बुधबार, बैशाख ८, २०७८
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चितवनमा उत्पादन हुने तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

चितवनमा उत्पादन हुने तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

  • शुक्रबार, चैत्र १३, २०७७
चितवनमा उत्पादन हुने तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

भरतपुर, चैत १३-

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो । चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिनुभयो ।

कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उहाँले बताउनुभयो । “जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौँ”, उहाँले भन्नुभयो । कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ । “यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो सिजनमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेको बताउनुभयो । “सबैले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “विषादी हालेर पर्खनुपर्ने समयावधि नपुगी बजारमा लैजाँदा विषादीका अवशेषहरु भेटिने गरेका छन् ।”

भरतपुर–२५ अमृतनगरका युवा कृषक लेखनाथ भुसालले विषादी प्रयोग किसानको बाध्यता भएको बताउनुभयो । “अधिकांश किसान साक्षर छैनन्”, उहाँले भन्नुभयो, “सबै कुरामा एग्रोभेटको विश्वास गर्ने परिपाटी छ ।” उहाँले यो समस्या सामाधन किसानले मात्रै गर्न नसक्ने बताउनुभयो । उच्चदरमा हुने विषादी बिक्री वितरणमा सरकारले नै रोक लगाउनुपर्ने उहाँको धारणा छ । “किसान उत्पादक र उपभोक्ता दुवै हो, स्वास्थ्यको चिन्ता किसानलाई पनि हुन्छ तर बाध्यता छ”, उहाँले भन्नुभयो ।

उहाँले कुन विषादीले स्वास्थ्यमा कति असर गरेको छ भन्ने कुरामा अनभिज्ञ रहेको बताउनुभयो । राज्यले एउटा योजना बनाएर काम गर्नुपर्ने भन्दै उहाँले बाली उत्पादन हुन नसक्ने अवस्थामा किसानलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । विनिता एग्रो सेन्टरका सञ्चालक विशाल श्रेष्ठले आफूहरुले किसानलाई प्रयोग गर्ने मात्रा र विधि जानकारी दिएर मात्र विषादी बिक्री गर्ने गरेको बताउनुभयो ।

“कतिपय किसानले आफँै विषादीको नाम लिएर माग्नुहुन्छ”, उहाँले भन्नुभयो, “वेटिङ पिरियड र विषादी डोजका बारेमा पनि जानकारी दिने गरेका छौँ ।” किसानले कीरा चाँडै मरोस् र धेरै तरकारी फलोस् भनेर पनि जथाभावी विषादी प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । गाउँगाउँमा अवैधरूपमा विषादी बेच्न हिँड्ने क्रम नरोकिएका कारण पनि यस्तो समस्या आएको उहाँको भनाइ छ ।

किसान कुलचन्द्र आचार्यले राज्यले कडा खालका विषादी रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विषादी नहालौँ तरकारी फल्दैन, हालौँ स्वास्थ्यमा असर गर्ने डर छ ।” उहाँले विषादीबिना कुनै पनि कृषिजन्य उत्पादन हुन छाडेको गुनासो गर्नुभयो ।

भरतपुर महानगर तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सञ्चालक पुरुषोत्तम गौतमले विषादी परीक्षण गरेर मात्र किसानलाई बिक्री वितरण गर्नु राम्रो हुने बताउनुभयो । उहाँले शुरुमा थोरै तरकारी लगेर विषादी परीक्षण गर्न र योग्य भए त्यसपछि मात्र बजारमा लैजान किसानलाई सुझाव दिनुभयो ।

कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले यस आर्थिक वर्ष २०७७÷७८ मा भरतपुरको महानगर तरकारी तथा फलफूल थोक बजारमा रहेको प्रयोगशालामा ६३४ नमूना परीक्षण भएको बताउनुभयो । तीमध्ये ११ परीक्षण क्वारेन्टिनमा रहेको र आठवटा नष्ट गर्नुपरेको जानकारी दिनुभयो ।रासस

Facebook Comments

सम्बन्धित समाचार