बुधबार, बैशाख ८, २०७८
  • होमपेज
  • समाचार
  • चितवनको तरकारीमा भारतीय तरकारी भन्दा धेरै विषादी भेटियो

चितवनको तरकारीमा भारतीय तरकारी भन्दा धेरै विषादी भेटियो

  • बिहिबार, चैत्र १२, २०७७
चितवनको तरकारीमा भारतीय तरकारी भन्दा धेरै विषादी भेटियो

काठमाडौँ, चैत १२-

चालु आर्थिक वर्षमा चितवनको तरकारीमा सबैभन्दा बढी विषादी भेटिएको छ ।

चितवनबाट काठमाडौँ आएको तरकारीमा सबैभन्दा धेरै विषादी भेटिएको हो । त्यसैगरी चितवनसहित धादिङ, काभ्रे र सर्लाहीबाट आइपुगेका तरकारीमा पनि विषादीको मात्रा धेरै नै छ ।

चितवनको ४, धादिङको २, काभ्रे र सर्लाहीका नमुनामा एक\एक वटा तरकारीमा खान नमिल्ने गरी विषादी प्रयोग भएको पाइएको विषादी परीक्षण इकाइ कालीमाटी तरकारी बजार काठमाडौँले जनाएको छ । भारतबाट आयातित तरकारीमा भने विषादीको मात्रा कम प्रयोग भएको पाइएका छन् ।
उपत्यकामा भित्रिने हरिया तरकारीमा विषादीको प्रयोगको मात्रा नघटेको परीक्षणले देखाएको छ । कालीमाटी विषादी परीक्षण एकाइका अनुसार हालसम्म गरिएका परीक्षणबाट आठ प्रकारका तरकारीमा विषादीको खानै नहुने मात्रा पाइएका छन्।

गोलभेडा, काउली र फर्सीमा विषादीको मात्रा अधिक पाइएको हा े। इकाइले यसबारे व्यवसायीलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको आठ महिनामा इकाइले एक हजार ६५१ वटा तरकारीका नमुनामा विषादीको मात्रा परीक्षण गरेको छ। परीक्षणबाट आठ प्रकारका तरकारीमा मान्छेले खानै नमिल्ने विषादी प्रयोग पाइएको हो । नौ प्रकारका तरकारीका नमुनामा भने विषादीको मात्रा पाइएको कालिमाटी बाली संरक्षणका प्राविधिक जागेश्वर शर्माले बताए ।

उनका अनुसार संकलित नमुनामा गत मंसिरदेखि उपत्यका ल्याइएका तरकारीमा विषादीको मात्रा भेटिन थालेको हो । मंसिरदेखि पुससम्ममा एउटा तरकारीको दरले विषादीको मात्रा भेटिएको थियो । गत फागुनमा मात्र ५ वटा तरकारी खान अयोग्य भेटिएको छ ।

पहिलेभन्दा तरकारीमा विषादीको प्रयोग घट्दै गएको पाइएको थियो । आयात गरिएका हरिया तरकारीमा खान अयोग्य कम मात्रामा भेटिदै आएको थियो । दुई वर्ष अघिसम्म किसानले तरकारीमा विषादीको प्रयोग घटाउदै लगेको देखिएको थियो। गत वर्ष भने तरकारीमा उलेख्यरूपमा विषादीको प्रयोग भेटिएको शर्माले बताए ।

कालिमाटीमा दैनिक ६०० टनभन्दा बढी हरिया तरकारी भित्रिने गरेको छ। यसमा आलु, प्याज र लसुन बाहेक सबैजसो तरकारीमा विषादीको मात्रा परीक्षण हुँदै आएको छ। आयात गरिएको तरकारी इकाइको अन्य शाखाहरुमा नै परीक्षण भएर आउने गरेको छ । जस अनुसार भारतीय तरकारीमा केही मात्रामा विषादीको मात्रा पाइएका छन्।

गत आर्थिक वर्ष २०७४/ ७५ मा १ हजार ८५० वटा तरकारीको नमुना परीक्षणमा तीन वटा तरकारीमा खान नमिल्ने विषादी प्रयोग भएको भेटिएको थियो भने एउटामा मात्र कम विषादी प्रयोग भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७५\७६मा तीन हजार १२४ वटा तरकारी परीक्षणमा दुई वटा तरकारी खान योग्य र दुई वटा खान अयोग्य देखिएको थियो। आर्थिक वर्ष २०७६\ ७७ मा १ हजार ८७७ वटा नमुना परीक्षण हुँदा २९ प्रकारका तरकारीमा उपभोगका लागि अयोग्य विषादीको मात्रा पाइएका थिए। उक्त परीक्षणमा १० वटा तरकारीमा भने मात्रा उपभोग योग्य देखिएका थिए।

बाली परीक्षण प्राविधिक शर्माका अनुसार गोलभेडा, काउली र फर्सीमा धेरै विषादी प्रयोग भएको पाइएका छन्। गोलभेडामा विभिन्न रोग देखिने हुनाले विषादीको प्रयोग गरिन्छ। गोलभेडाको माग बजारमा सबैभन्दा उच्च हुने गरेको छ। काउलीमा पनि हरिया किरा लाग्ने समस्याले किसानहरुले विषादी प्रयोग गर्छन् । हाल फर्सीको उत्पादन सुरु भएको छ। चाडै उत्पादन गरी बजारमा बिक्री गर्न विषादीको प्रयोग गर्दा खान अयोग्य पाइन थालेको छ।

उपभोक्ता भने अनविज्ञ

दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारीमा विषादीको मात्रा मान्छेका लागि हानिकारक भए त्यसले रोगी बनाउँछ । हेर्दा राम्रा देखिने तरकारीमा विषादीको मात्रा आँखाले हेरेर थाहा पाउन सकिँदैन ।

तरकारीमा विषादी प्रयोग भए/नभएको न व्यापारीले भन्न सक्छन्, न त उपभोक्ताले थाहा पाउँछन् । उपभोक्ताहरु मूल्यबाहेक अन्य कुरामा जानकार छैनन् । व्यापारी पनि बिक्रीका लागि आइपुग्ने तरकारीमा विषादीको मात्राबारे सोधीखोजी गर्दैनन् ।

इकाइका अनुसार विषादीको मात्रा परीक्षण गर्दा ३५ प्रतिशतसम्म पाइए कम उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्मको मात्रा विषादी भएका तरकारी केही दिन राख्ने र पर्खने गरिन्छ। ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए त्यस्ता तरकारी किनबेच गर्नु हुँदैन । नष्ट गर्नुपर्छ । तर बजारमा ल्याइएको तरकारी परीक्षण नगर्दै बिक्री भइसक्छ ।

Facebook Comments

सम्बन्धित समाचार