मङ्लबार, बैशाख ७, २०७८

असभ्य टिप्पणी

  • सोमवार, फाल्गुन १७, २०७७
असभ्य टिप्पणी

अहिले सामाजिक सञ्जालमा नेकपा नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा गरेको टिप्पणी भाइरल बनेको छ । टिप्पणीसँगै (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्त विवादमा परेका छन् । राजधानीमा भएको कार्यकर्ता भेलामा पन्तले ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेका थिए । उनीमात्र होइन यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि त्यस्तै प्रकारको आक्रमण भएको थियो । नेकपाकै नेता रामकुमारी झाँक्रीले उनको यौनिकतामाथि आक्रमण गरेकी थिइन् । समयसमयमा राष्ट्रियरुपमा चर्चित बनेका नेतृहरुमाथि यसप्रकारका असभ्य शब्दहरु प्रयोग हुने गरेका छन् । जुन आफैमा दुःखद् विषय हो । समानुपातिक कोटाबाट सांसद बन्नेहरु जो कोही व्यक्तिगत प्रभाव वा व्यक्तित्वको आधारमा सांसद बनेका छन् । महिलाहरूले सफलता प्राप्त गरेपछि वा पदमा पुगेपछि यस प्रकारको टिकाटिप्पणी आउने गरेको छ । नेपाल मात्र नभएर अमेरिका र युरोपका देशहरुमा पनि यदाकदा महिला नेतृहरुमाथि यसप्रकारको आक्रमण हुने गरेका थिए । यसअघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसमाथि होस् वा पूर्वराष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टमाथि यस्तै छुद्र टिप्पणीहरु भएका थिए ।

यस्तो प्रवृत्ति समग्र महिला नेतृहरुलाई हतोत्साही गर्ने प्रवृत्तिको रुपमा लिन सकिन्छ । यो प्रवृत्तिको अन्य हुन जरूरी छ । महिला राजनीतिमा अगाडि बढेको हेर्न नचाहने प्रवृत्तिले पनि नेपाललगायत विश्वभर नै यस्ता अपमानका घटनाहरु घट्ने गर्छन् । नेपालमा पितृसत्ता सर्वत्र छ । पितृसत्ताले महिलाका यौनिकता, शरीर, श्रम, भूमिका, सोच, विवाह, प्रजनन् शक्तिदेखि उसको व्यक्तिगत–पारिवारिक, सामाजिक–व्यवसायिक सम्बन्ध, पहिचान र कार्यक्षेत्रजस्ता कुरामाथि पुरुषको अधिकार र नियन्त्रण कायम राखेको छ । जसअन्तर्गत महिलाहरू शारीरिक, बौद्धिक र भावनात्मक रूपमा कमजोर हुन्छन् । त्यसैले उनीहरूमाथि पुरुषको निगरानी, संरक्षण र नियन्त्रणको अनिवार्यता सर्वस्वीकार्यझैं बनाइएको छ । दर्शन र संस्कारको नाममा, मायाको नाममा, डर र त्रासको नाममा सामाजिक–सांस्कृतिक रूपमा असमान लैङ्गिक व्यवहारहरूको अभ्यास गरेर त्यस्ता मान्यताहरू चल्दै आएका छन् । लामो अभ्यासहरूमार्फत महिला पुरुषको दाँजोमा हरेक हिसाबले कमसल र तल्लो श्रेणीका हुन् भन्ने कुरा ‘प्राकृतिक’ हो भन्ने भान पारिँदै छ ।

नेपाली समाज पितृसत्तात्मक मात्रै छैन । पितृसत्तात्मक हिन्दु दर्शनअनुरूपका मान्यता र प्रचलनहरूलाई नेपाली समाजको ‘साझा’ मान्यता वा प्रचलनका रूपमा व्यापक बनाइएको समाज पनि हो । जसअन्तर्गत पितृसत्तात्मक हिन्दु मान्यताअनुरूप आम महिलाको भूमिका, कार्यक्षेत्रको सीमा र चरित्रको निर्धारण गरी पुरुषको अधिनमा महिला रहनुपर्ने कुरालाई ‘स्वाभाविक’ वा ‘सामान्य’ बनाइयो । धार्मिक दर्शनको सामाजिक अभ्यासको परिवर्तित चरणहरूसँगै धर्मले पनि पितृसत्ता अँगाल्दै गएपछि महिलामाथि दर्शन र संस्कारको नाममा नैतिक एवं चारित्रिक घेराबन्दी सिर्जना गरियो । महिलाले यौनसम्बन्धी सोच्नु, खुलेर कुरा गर्नुलाई उच्छृङ्खलता र खराब भनियो । प्रेमी, जीवनसाथी आफंै रोज्नुलाई निर्लज्ज र अमर्यादित भनियो । विवाहपूर्व (हुनेवाला श्रीमान्सँग नै भए पनि) वा बिना विवाह यौनसम्पर्क राख्नु ‘सतित्व’ गुम्नु, ‘अपवित्र’ वा ‘पतित’ हुनु हो भनियो । यो मनोवृत्तिमा परिवर्तन ल्याउन हाम्रा राजनीतिक दल, नेताहरु र तिनका प्रवृत्ति, सोचमा परिवर्तन ल्याउन जरुरी छ । यस्तो असभ्य सोच र छुद्र टिप्पणी गर्ने प्रवृत्ति रहेसम्म रघुजी पन्तदेखि रामकुमारी झाँक्रीसम्मको भावी राजनीति अगाडि बढ्न सक्दैन ।

Facebook Comments

सम्बन्धित समाचार