मङ्लबार, बैशाख ७, २०७८
  • होमपेज
  • सम्पादकीय
  • विकासशील देश बन्ने सौभाग्य

विकासशील देश बन्ने सौभाग्य

  • आइतवार, फाल्गुन १६, २०७७
विकासशील देश बन्ने सौभाग्य

संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । सबै नेपालीको लागि यो खुसीको विषय हो । सधैँ राजनीतिक अधिकारका लागि लडेका हामीहरुले आर्थिकरुपमा अगाडि बढ्ने अवसर कहिल्यै पनि पाएका थिएनौँ । नेपाल विकासशील राष्ट्र बनेपछि पक्कै देश अझ अगाडि बढ्दै गएर छिट्टै विकसित देशको रुपमा पहिचान बनाउने छ । यसको लागि राजनीतिक स्थिरता र दलका नेताहरुमा देश विकास गर्ने इच्छाशक्ति अनिवार्य छ । लामो समयदेखि अस्थिर बनेको देशको राजनीतिमा केपी ओली नेतृत्वको स्थिर र बलियो सरकार बनेसँगै आर्थिक सूचकाङ्क उकालो लाग्न थालेका हुन् । विभिन्न भ्रष्टाचारको आरोप लागे पनि ओली सरकारले नेपालीलाई समृद्धि र विकासको सपना देखाइदियो । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेझैँ त्यही आर्थिक समृद्धि र विकासको सपनाले कछुवा गतिमा भए पनि विकासको पथमा अगाडि बढ्दै छ भन्ने प्रमाणित भएको छ ।
स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नुपर्छ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्बाट स्वीकृत हुनुपर्छ । अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधासमेत दिइएको छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकाङ्कका तोकिएको मापदण्ड पार गरिसकेको छ । पछिल्लो समय २०७२ को भूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ । सन् २०२२ मा स्तरोन्नति भएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुविधा सन् २०२६ सम्म नै पाउने भएको हो । जुन आफैमा सकारात्मक विषय हो ।
सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क ०.५८७ छ । यो अघिल्लो वर्ष सन् २०१९ को तुलनामा ०.०८ अङ्कले बढी हो । विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको कोटीमा छ । पछिल्ला वर्षमा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिदरमा सकारात्मक सुधार भएकाले नेपालको जीवनस्तरमा सुधार भएको देखिन्छ । देश चौडा राजमार्ग निर्माण गर्दै रेलको सञ्जालमा प्रवेश गर्ने तरखर गर्दैछ । देश विकासमा लगानी बढाएर औद्योगिक विकास गर्न सकेमा पक्कै पनि विश्वकै सुन्दर नेपाल विकासमा अगाडि बढ्न धेरै समय लाग्दैन । विकासशील राष्ट्र भएसँगै नेपालका लागि अवसर र चुनौती दुवै छन् । जोखिम घटाउने र विकासलाई गति दिनेगरी अघि बढ्नुपर्छ । देशको उत्पादनशील रूपान्तरणमा आवश्यक छ । यसबाट निर्यातका साथै औद्योगीकरणमा प्रतिस्पर्धा बढ्नेछ । प्रतिस्पर्धा गर्न नसकेको खण्डमा नेपाललाई कठिन हुनेछ । सबै राजनीतिक दल, नागरिक, प्रशासक र नेताहरुमा देशलाई रुपान्तरण गर्ने प्रतिबद्धता भएमा देशमा देखिएका आर्थिक विकासका समस्याहरु समाधान गर्न गाह्रो छैन । विकासशील देशमा प्रवेश गरेर अझ विश्वका अन्य देशहरुसँग प्रतिस्पर्धात्मकरुपमा अगाडि बढ्नुपर्छ । विकासको स्वस्थ प्रतिस्पर्धा जरुरी पनि देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार