मङ्लबार, बैशाख ७, २०७८
  • होमपेज
  • सम्पादकीय
  • विभेदले बढाएको अपराध

विभेदले बढाएको अपराध

  • आइतवार, फाल्गुन १६, २०७७
विभेदले बढाएको अपराध

नेपाली समाजमा अझैसम्म पनि छोरा र छोरीलाई गरिने व्यवहार समान हुन सकेको छैन । महिलाहरुमा गर्भ जाँच गरेर भ्रुण हत्या गर्ने क्रम एकातिर छ भने अर्काेतिर घरपरिवारले छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा पनि एकरुपता आउन सकेको छैन । कतिपयले छोरी जन्मिसकेपछि पनि हत्या गर्ने गरेका छन् भने कयौँले अवैधरुपमा शारीरिक सम्पर्कपछि जन्मिएका सन्तानको हत्या नै गर्ने गरेको घटनाहरु सार्वजनिक भएका छन् । सुनसरीको गढी गाउँपालिका–३ की चन्दनकुमारी साहले गढी मेडिकल हलमा जन्माएकी शिशुको हत्या गरेकी छिन् । कानुनी ज्ञानको अभाव र आर्थिक अभाव हुँदा अनुचितरुपमा रहेको गर्भ पतन गर्न उनले सकिनन् । कसैले चाहेर पनि गर्भपतन गर्न सकेका छैनन् भने कोही महिला नचाहँदा नचाहँदै परिवारको दबाबको कारणले गर्भपतन गर्न बाध्य छन् । जुन आफैमा जघन्य मानवता विरोधी अपराध हो । प्रहरीका अनुसार साहले ट्वाइलेट अगाडि फालिएको खरानी र माटोको थुप्रो खोस्रेर शिशु गाड्दै थिइन् । अविवाहित अवस्थामा गर्भ रहेर शिशु जन्मेपछि उनले हत्या गर्न खोजेको प्रहरीको प्रारम्भिक बुझाइ छ । समाजिक अपहेलनाबाट बच्नको लागि पनि यसप्रकारका अपराधिक क्रियाकलापमा मानिस प्रेरित हुने रहेछ ।
पहिलो सन्तान छोरी हुँदासम्म परिवारमा खुसी हुने तर दोस्रो सन्तानका रूपमा पनि छोरीकै जन्म भएपछि परिवार तथा छिमेकीले मन खिन्न बनाउने प्रचलन अझै पनि नेपाली समाजमा कायमै छ । छोरा मात्र हुँदा दुई सन्तान वा एक सन्तान भए पनि पुग्ने तर छोरी हुँदा भने छोराको आशमा पटकपटक छोरी जन्माउने प्रचलनले अहिले महिलाको जनसंख्या बढ्दै गएको छ । राज्यले वृद्धवृद्धाको जीवनको सुरक्षा र हेरविचार गर्न सक्ने ग्यारेन्टी नहुनाले पनि छोराले नै पाल्छ भन्ने सामाजिक मान्यता कायमै छ । त्यसैगरी, हिन्दु धर्मको परम्परागत मान्यता अनुसार मृत्युपछि गरिने काजक्रियाको लागि पनि छोरा नै चाहिन्छ भन्ने मान्यता पनि बढ्दो छ । तराईका जिल्लामा बढ्दो दाइजो प्रथाको कारणले पनि छोरीको भ्रुण हत्या हुने गरेको छ ।
मान्यताप्राप्त गर्भपतन केन्द्रले महिलाको निर्णयमा १२ सातासम्मको, हाडनाता वा बलात्कारबाट रहन गएको गर्भको प्रमाणित भई अभिभावकको सहमतिमा, आमा र बच्चामा कुनै जोखिम देखिए सम्बन्धित चिकित्सकको सल्लाहमा मात्र गर्भपतन गराउन सकिने कानुनी प्रावधान छ । यसबाहेक भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गराउन भने पाइँदैन । तर, पैसाको लोभमा वैधानिकता पाएकै चिकित्सकहरूले भ्रुण पहिचान गरी गर्भपतन गराइन्छ । यस कानुनको बारेमा सामान्य ज्ञान पनि नहुँदा महिलाहरु समस्यामा परेका छन् । उनीहरुमा महिलाका अधिकारबारे कानुनी साक्षरता दिन पनि त्यत्तिकै आवश्यक देखिन्छ ।
गर्भमा रहेको भ्रुणको लिङ्ग छोरा वा छोरी भनेर पहिचान गराउन पाइँदैन । भ्रुणको लिङ्ग परीक्षणलाई अपराध मानिन्छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महल (२८) ग मा गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान मात्र गराउनेलाई ३ देखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था रहेको छ । परिवार र पतिको सल्लाहबाट गर्भपतन गराउने भएकाले यसविरुद्ध कसैले उजुरी नहाल्ने प्रवृत्ति छ । यस्ता सामाजिक विकृतिको अन्त्यको लागि समाजमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार