मङ्लबार, फाल्गुन १८, २०७७

गरिबीको पीडा

  • मङ्लबार, माघ २७, २०७७
गरिबीको पीडा

चाहे संसद विघटनको माग गर्दै होस् वा चाहे चुनावको माग गर्दैै होस् सडक फेरि तात्न थालेको छ । जुनसुकै पक्षले आमसभा गरे पनि हजारौँ नागरिकको सहभागिता देखिन्छ । नेताहरु आफ्नो कुर्ची र राजनीतिक भविष्य गुमेकोमा निकै नै बढी चिन्ता गर्छन् तर सर्वसाधारण नागरिकको कष्टकर दैनिकीबारे खासै कसैले चासो दिँदैनन् । औषधिमूलो, सामान्य शिक्षादेखि भविष्यको जोहो गर्नुपर्ने चिन्ताले सताइएका नेपालीले सधैँ सडकमा देखिने नारा र जुलुसले अघाउँदैनन् । आन्दोलन, जुलुस र विद्रोहले भोको पेट भरिँदैन । युवाका सपना र रहर पूरा हुँदैन । धन्य रेमिट्यान्सले जेनतेन देशको अर्थतन्त्र धानिएको छ । यदि रेमिट्यान्स पनि उठ्ने बाटो नभएको भए देश झनै समस्याको जालोमा फस्ने निश्चित नै थियो । राजनीतिका नाममा धेरै आन्दोलन, विद्रोह र बलिदानी भए पनि नागरिकको जीवनस्तरमा खासै उल्लेखनीय परिवर्तन आउन नसक्नु बिडम्वना नै हो ।

देशको राजनीतिक आन्दोलनको प्रतिफलको रुपमा सबै दलका नेताहरुको जीवनशैली फेरिएको छ । दलका विरोध सभामा केही वर्ष अघिसम्म प्लास्टिकका कुर्ची हुन्थे तर अहिले लाखौँ मूल्यका सोफा सजिन थालेका छन् । कुनै पेसा तथा व्यवसाय नगरी जीवनभर गरेको राजनीतिको भरमा नेताहरुले निकै आनन्दपूर्ण जीवन बिताइरहेका छन् । अर्काेतर्फ जनताको दैनिकी कोरोनाको कारणले बन्द भएको छ भने साहुको ऋण तिर्न र विप्रेषणबाट आएको रकमले देशको अर्थतन्त्र बलियो पार्न विदेश भासिएकाहरू धमाधम बाकसभित्र बन्दी भएर फर्किरहेका छन् । नेताका भाषणमा यी विषयले खासै प्राथमिकता पाउन सकेका छैनन् ।

गालीगलौजमा उनीहरुको दैनिकी बित्ने गरेको छ । कोरोना महामारीका कारणले काम र व्यवसाय बन्द हुँदा महिनौँसम्म खुलामञ्चमा थाल थापेर नागरिकले भोक टारे, घर जान हिँडेकाहरू लामो दूरी पैदल पार गर्न नसकी बाटैमा मरे । कोही लुकेर स्वदेश फर्कंदा महकालीमा डुबेर मरे । कतिलाई कट्टुका भरमा सहर घुमाइयो, बेइज्जत गरियो, केवल स्वदेश फर्केकै कारण यातायातमा ज्यादै कडाइ गरियो । एक ठाउँबाट अर्को ठाउँ जान दिइएन । कैदीको व्यवहार गरियो । त्यत्रो कडाइ गर्दा पनि कोरोना घटेन, बढ्यो । भागेर साइकलमा लामो दूरी पार गर्न खोज्दा बाटैमा कति लडेर मरे । बन्दबन्दीमा यतिसम्म गरियो कि आफ्नाको अनुहारसम्म देख्न नपाई छट्पटिएर मरे । यो कथा नभएर यथार्थ हो । नेपालमा दैनिक आवश्यकता पूरा गर्न नसक्ने नेपालीको संख्या ६८ लाख पुगेको तथ्यांक बाहिर आएको छ ।

राजनीतिक दल र नेतामा नभइ नहुने गुण भनेको नागरिकको सेवा हो । सरकारले जनता र भूभागको रक्षा गर्नुपर्छ । देश र नागरिकको चिन्ता गर्ने बानी नभएसम्म त्यो व्यक्तिलाई नेता मान्न सकिन्न । घुमीफिरी रुम्जाटार भने जस्तै नेपालको राजनीति फेरि पुरानै अस्थिरतातर्फ फर्किएको छ । नागरिकले भोट हालेर देशमा स्थिर सरकार बनेर पनि नागरिकको अपेक्षा र सपना पूरा हुन सकेको छैन । आर्थिक समृद्धि र विकासले विदेशका मरुभूमिमा पसिना बगाएका युवाहरु फर्किएलान् भन्ने धेरैको अपेक्षा थियो तर कोरोनाको महामारीले खेद्दा पनि उनीहरुलाई देशको माटोले आकर्षण गर्न सकेन । देशमा बढ्दो भ्रष्टचार, कुशासन, ढिलासुस्ती, कमिसनको खेल हट्न नसकेसम्म नागरिकको मुहारमा खुसी आउने सम्भावना छैन ।

Facebook Comments

सम्बन्धित समाचार