चितवन, १६ माघ–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह चितवनले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शनिबार) भरतपुरमा गर्न लागेको दुई आयोजनाको शिलान्यास कार्यक्रम रोक्न माग गरेको छ ।
निर्वाचन कार्यालय चितवनलाई पत्र लेख्दै प्रचण्ड–माधव समूहले शिलान्यास कार्यक्रम रोक्न माग गरेको हो । शुक्रबार भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला इन्चार्ज कृष्ण खनालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा शिलान्यास गरिनु निर्वाचन आचारसंहितको ठाडो उल्लंघन गरिएको बताए । उनले निर्वाचन आयोगसमक्ष उक्त कार्य रोक्न माग गरिएको जानकारी दिए । ‘निर्वाचन हुँदैन थाहा छ, तर उनीहरु आफैले घोषणा गरेको कार्यक्रमको विपरीत शिलान्यास कार्यक्रम गर्दैछन्, त्यो रोक्न भनेका छौं’–इन्चार्ज खनालले भने ।
शिलान्यास कार्य नौटङकीयुक्त भन्दै सो समूहले त्यसको विरोध गरेको छ । ‘विगत केही महिनादेखि निर्माण कार्य अघि बढीसकेको उक्त दुवै आयोजनालाई बीच अवधिमा आइ कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यास्पद रहेको छ, नौटङकीयुक्त कार्यको नेकपा चितवन जोडदार विरोध गर्दछ’–जिल्ला अध्यक्ष यमबहादुर परियारले भने ।
यस्तै प्रचण्ड–समूहले शनिबार भरतपुरमा नेकपाको नाममा हुने कुनै पनि कार्यक्रम पार्टीको आधिकारिक नभएको बताएको छ । जिल्ला अध्यक्ष यमबहादुर परियारले भने–‘नेकपा चितवनको कुनै पनि आधिकारिक कार्यक्रम नभएको हुँदा कुनै गुट वा समूहको नाउँमा गरिने कार्यक्रम हाम्रो पार्टीको कुन संलग्नता नभएको जानकारी गराउँदछौं ।’